नतिजा नै आएन: सर्लाहीको एक विद्यालयबाट एसईई दिएका १२६ विद्यार्थीको भविष्य अन्योलमा

२०८२ असार १७, मंगलवार १४:४१

सर्लाही – सर्लाही जिल्लाको रामनगर गाउँपालिका–५, सिसौटमा रहेको श्री बागमती माध्यमिक विद्यालयका १२६ जना विद्यार्थी यतिबेला भविष्यको गम्भीर अन्योलमा परेका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको नतिजा देशभर सार्वजनिक भइसकेको छ तर यो विद्यालयबाट परीक्षा दिएका सबै विद्यार्थीको नतिजा अहिलेसम्म नआएको घटना पहिलोपटक सार्वजनिक भएको छ।

नतिजा प्रकाशित नभएपछि विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र स्थानीयबासी स्तब्ध भएका छन्। आफ्ना नतिजा पर्खिरहेका विद्यार्थीहरु निराशामा डुबेका छन् भने कतिपय विद्यार्थी रुवावासीको अवस्थामा पुगेका छन्। नतिजाको अनिश्चितताले उनीहरू कक्षा ११ भर्ना, छात्रवृत्ति आवेदन तथा अन्य प्रतिस्पर्धात्मक तयारीबाट समेत वञ्चित हुने जोखिम देखिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले देशभरका लाखौं विद्यार्थीको नतिजा प्रकाशित गरे पनि बागमती माविका विद्यार्थीहरूका नतिजा बोर्डको प्रणालीमा देखिएको छैन। यसले विद्यालय प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ। एकैसाथ १२६ जनाको नतिजा नआउनु विद्यालयको चरम लापरवाही तथा प्राविधिक त्रुटिको परिणाम भएको स्थानीयले आरोप लगाइरहेका छन्।

यस घटनाप्रति विद्यालयले आक्रोशित बिद्यार्थी र अभिभावकलाई नातिजा आज आउँछ, भोलि आउँछ भन्दै अलमल्याई रहेका छन्। विद्यालयका प्रमुख जिम्मेवार शिक्षकहरू खुलस्त बोलेका छन्, न त शिक्षा शाखा र परीक्षा कार्यालयले कुनै स्पष्ट प्रतिक्रिया दिएका छन्। प्रारम्भिक रूपमा फारम प्रमाणीकरण, विवरण प्रविष्टि वा अन्य प्राविधिक लापरवाहीका कारण नतिजा रोकिएको हुनसक्ने आशंका गरिएको छ।

विद्यार्थीको भविष्य सँग सम्बन्धित यति ठूलो गल्ती हुँदा पनि कसैले स्पष्ट जवाफ नदिनुले शिक्षा प्रणालीमै गम्भीर कमजोरी देखिएको जनाइएको छ। शिक्षा केवल विद्यालयको भौतिक संरचना या किताबको ज्ञानमा मात्र सीमित छैन, यो विद्यार्थीको जीवन, आत्मविश्वास र भविष्यसँग गाँसिएको गम्भीर विषय हो। यस्तो लापरवाहीले न केवल विद्यार्थीको जीवनसँग खेलवाड गर्छ, यसले सम्पूर्ण शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाउँछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार