मनसुनको एक महिनामै ६७४ घटना: ३१ को मृत्यु, करोडौँको क्षति

२०८२ असार १७, मंगलवार १७:५३
फाइल फोटो

सर्लाही – देशभर सक्रिय मनसुन सुरु भएको एक महिनामा मात्र ६७४ वटा विपद् सम्बन्धी घटना घटेका छन् । जेठ १५ देखि असार १६ सम्मको अवधिमा यी घटनाहरूले ३१ जनाको ज्यान लिएको छ भने ११२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोका ८७ घटना रेकर्ड भएका छन् । पहिरोले २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुर्‍याएको छ । त्यस्तै, एउटा पुल, सात वटा गोठ र १४ चौपाया नष्ट भएका छन् । पहिरोका कारण मात्रै रु २ करोड २१ लाख बराबरको भौतिक क्षति भएको छ ।

बाढीका ६४ घटनामा चार जनाको ज्यान गएको छ भने चारै जना घाइते भएका छन् । बाढीले १२३ परिवार प्रत्यक्ष प्रभावित बनाएको छ र चार घरमा क्षति पुर्‍याएको छ । यस्तै, चट्याङका ८२ घटनामा आठ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।

समग्रमा हेर्दा, मनसुनको एक महिनामै देशभरबाट रु २६ करोड बराबरको आर्थिक क्षति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । सरकारले आगामी दिनमा मनसुनजन्य विपद्का जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार