सर्लाही – सन् २०२५ को पहिलो छ महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, यो अवधिमा ५ लाख ७७ हजार ३३३ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
गत वर्षको यही अवधिमा (सन् २०२४ को पहिलो छ महिनामा) ५ लाख ८३ हजार ११ पर्यटक आएका थिए। तुलनात्मक रूपमा यो वर्षको आगमनमा केही कमी देखिए पनि समग्रमा स्थिरता कायम रहेको देखिन्छ। केवल जुन महिनाको तथ्यांक हेर्दा यस वर्ष ७६ हजार ४२५ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको ७६ हजार ७३६ को तुलनामा थोरै घटेको हो।

पर्यटक आगमनको मूल स्रोत देशका रूपमा भारत सधैंझैं अगाडि देखिएको छ। जुन महिनामा भारतबाट मात्र ३२ हजार ६६२ पर्यटक आएका छन्। दोस्रो स्थानमा अमेरिका (९ हजार ६९६) र तेस्रोमा चीन (६ हजार ७३६) रहेका छन्। त्यस्तै, बंगलादेशबाट ५ हजार ४४९ तथा बेलायतबाट २ हजार २८४ पर्यटक नेपाल आएका छन्।
अन्य उल्लेखनीय पर्यटक आउने मुलुकहरूमा अष्ट्रेलिया, मलेसिया, भुटान, जापान र दक्षिण कोरिया परेका छन्। पर्यटन बोर्डका अनुसार स्थायीत्व र पूर्वाधारको सुदृढीकरणसँगै नेपालले अझै बढी पर्यटक आकर्षण गर्न सक्ने सम्भावना रहेको बताइएको छ।





