सर्लाहीमा पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठी सम्पन्न, मन्त्री लेखीद्वारा पत्रकार हितमा कार्यक्रम विस्तारको प्रतिबद्धता

२०८२ असार १८, बुधबार १७:००

मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित ‘पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी’ आज (बुधबार) मलंगवामा सम्पन्न भएको छ।

मलंगवा नगरपालिका–२ स्थित होटल सुजातामा सम्पन्न कार्यक्रममा मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादवको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रूपमा प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको उद्देश्य संचारकर्मीहरूबीच आचार संहिताप्रतिको गम्भीरता र साझा जिम्मेवारीबोध गराउनु रहेको मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष यादवले बताउनुभयो।

गोष्ठीमा प्रेस मञ्चका कार्यवाहक अध्यक्ष मनोज यादवले ‘सर्लाहीमा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था तथा मिडिया काउन्सिल मधेश प्रदेशसंग गरिएको अपेक्षा बिषयक कार्यपत्र’ प्रस्तुत गर्नुभएको थियो। उहाँको कार्यपत्रमा पत्रकारितामा देखिएको आचारहीनता, सामाजिक सञ्जालको प्रयोग, प्रेस स्वतन्त्रताको मर्यादा, उत्तरदायित्व र व्यावसायिक निष्ठाका विविध पक्षबारे गहिरो विश्लेषण गरिएको थियो।

प्रमुख अतिथि मन्त्री लेखीले सम्बोधनमा संचार मन्त्रालयको बजेट सीमित भए पनि पत्रकारिता क्षेत्रको सशक्तिकरणलाई सरकारको प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूको बीमा योजना, सबै जिल्लामा पत्रकार महासंघको कार्यालय भवन निर्माण, उत्कृष्ट पत्रकार सम्मानलगायत कार्यक्रमहरू अघि बढाइने जानकारी दिनुभयो।

गोष्ठीलाई सम्बोधन गर्दै मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य एवम् नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष बन्दना झाले सर्लाहीमा पछिल्लोसमय पत्रकारिताको विश्वसनीयता खस्किंदै गएको प्रति दुःख व्यक्त गर्दै पत्रकारिता प्रतिको विश्वासलाई जीवन्त राख्न शाखा सर्लाहीले पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म वहस र विश्लेषणसहित अघि बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।

कार्यक्रममा सहभागी पत्रकारहरू तथा सरोकारवालाहरूले आ-आफ्ना धारणा राख्दै संचार क्षेत्रको सुधार, आचार संहिता पालनाको महत्त्व र पत्रकार सुरक्षाका विषयमा सुझाव दिएका थिए। उक्त गोष्ठी पत्रकारिता क्षेत्रको मर्यादा, उत्तरदायित्व र व्यावसायिक शुद्धताको पक्षमा महत्वपूर्ण छलफल तथा मार्गदर्शनको थलो बनेको सहभागीहरूले उल्लेख गरेका छन्।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सांसद जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, आम संचार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र खड्का, चलचित्र तथा लोक संचार प्रवर्द्धन परिषद्का अध्यक्ष किशोर कुमार लेखी, मिडिया काउन्सिल सदस्य बन्दना झा, एमाले सर्लाही अध्यक्ष राजनारायण साह, काउन्सिलका प्रशासकीय प्रमुख टेक विक्रम साह तथा पत्रकार महासंघ सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरसहित दर्जनौं सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार