बारा – बारामा घरायसी विवादमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वा गाउँमा आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा ३५ वर्षीय बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मियाँले २३ वर्षीया पत्नी सहिना खातुनसँग भएको सामान्य घरायसी झगडापछि आक्रोशमा आएर मासु काट्ने दाउ प्रयोग गरी प्रहार गरेका थिए। टाउको, घाँटी लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा सहिनाको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीयवासीले घटनापछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो र आरोपी मियाँलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले आरोपीलाई नियन्त्रणमा लिइ घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए।





