किशोरकिशोरी लागुऔषधको चपेटामा

२०८२ असार १९, बिहीबार ०७:११

सर्लाही – नेपालमा किशोरकिशोरीहरूमा लागुऔषधको दुर्व्यसन तीव्ररूपमा बढ्दै जाँदा त्यसले गम्भीर मानसिक समस्या मात्र होइन, महिला हिंसा र सामाजिक विघटन पनि निम्त्याएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय महिला आयोगद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व दुर्व्यसनी प्राचीन सुनारले हाल १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू यो दुर्व्यसनको चपेटामा पर्न थालेको खुलासा गरे।

“लागुऔषध सेवन गर्ने किशोरहरूमा गहिरो मानसिक समस्या देखिन्छ,” सुनारले भने, “पुरुषका लागि केही सुधार केन्द्रहरू भए पनि महिलाका लागि न सुरक्षित केन्द्र छन्, नै पहुँचयोग्य संरचना।” उक्त अन्तरक्रियामा बोल्दै आयोगकी सदस्य कृष्णकुमारी पौडेलले दुर्व्यसनको असर यौन हिंसा र अन्य लिङ्गआधारित हिंसामा समेत देखिन थालेको बताइन्। “हालसम्म ठोस अध्ययन नभए पनि दुर्व्यसनमा फसेका युवाले महिला हिंसामा संलग्न हुने सम्भावना बढी देखिन्छ,” पौडेलको भनाइ थियो।

उनले आयोगको कार्यसम्पादनमा पनि पुरुषप्रधान मानसिकता र बजेट अभावले कठिनाइ भएको उल्लेख गरिन्। २०७८/८१ को आर्थिक वर्षमा आयोगमा दर्ता भएका ५०६ उजुरीमध्ये अधिकांश घरेलु, मानसिक, शारीरिक र आर्थिक हिंसासँग सम्बन्धित छन्। यद्यपि, पेशागत क्षेत्रमा हुने महिला हिंसासम्बन्धी उजुरी भने एकपटक पनि दर्ता भएको देखिएको छैन।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी उजुरी बागमतीमा (११ वटा) परेका छन्। मधेश र कोशी प्रदेशमा एक–एक उजुरी मात्र दर्ता भएका छन् भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकपटक पनि महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छैन, जुन अत्यन्तै चिन्ताको विषय हो। आयोगका अनुसार उजुरीमा सबैभन्दा बढी आर्थिक हिंसा (२५५), शारीरिक हिंसा (२१५), मानसिक हिंसा (१५१) र यौनजन्य हिंसा (८) छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार