एसईईमा मधेशको चिन्ताजनक नतिजा

२०८२ असार १९, बिहीबार ०९:५९

सर्लाही – देशभरको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाले समग्रमा सुधारको संकेत दिएको छ, तर मधेश प्रदेशको अवस्था भने झनै गम्भीर बन्दै गएको छ। जबकी राष्ट्रिय रूपमा ६२ प्रतिशत विद्यार्थी कक्षा ११ मा पढ्न योग्य देखिएका छन्, मधेशमा मात्र २८ प्रतिशत विद्यार्थीले यो योग्यता हासिल गरेका छन्।

पछिल्लो वर्ष मधेशमा उत्तीर्ण हुनेको प्रतिशत ४७ थियो, जुन राष्ट्रिय औसतसँग लगभग समान थियो। तर यस वर्ष एकाएक त्यो दर घटेर २८ प्रतिशतमा झरेको छ। यसपटक मधेशका ५९ हजार ७४९ मध्ये ७२ प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्, जुन संख्या आफैँमा गम्भीर चिन्ताको विषय हो।

प्रदेशगत रूपमा हेर्दा बागमती ८२, गण्डकी ७६, कर्णाली ७०, सुदूरपश्चिम ५५, कोशी ५१ प्रतिशत उत्तीर्ण दरसहित अगाडि छन्। मधेश प्रदेश भने सबैभन्दा पछाडि छ। यस गिरावटको पछाडि सामुदायिक विद्यालयको संरचना, शिक्षकमै अभाव, सेवासुविधा र मनोबलको कमजोर अवस्था, साथै शैक्षिक वातावरणको अभाव मुख्य कारण देखिन्छ। गणित, विज्ञान, अंग्रेजी र सामाजिकजस्ता विषयहरूमा सबैभन्दा धेरै विद्यार्थी ननग्रेडेड भएका छन्। गणितमा मात्र १ लाख २८ हजार बढी विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्।

२०५७ सालदेखि स्थायी दरबन्दी नथपिएको, भएका शिक्षकको आन्दोलनमुखी अवस्था र आवश्यक स्रोत साधनको कमीले पनि एसईईको नतिजा प्रभावित पारेको स्पष्ट देखिन्छ। सरकारले अब दुई प्राथमिकतामा ध्यान दिन आवश्यक छ, पहिलो, आगामी वर्षको नतिजामा गुणात्मक सुधार ल्याउने प्रयास; दोस्रो, हाल ननग्रेडेड भएका विद्यार्थीको व्यवस्थापन र भविष्य सुनिश्चितता। यस्ता विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा सहजरूपमा पहुँच दिनुपर्छ।

यसपटक ९७१ जनाले जीपीए ४ ल्याउनु, अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो। तर, संख्यात्मक सुधारले मात्र शैक्षिक प्रणालीको दिगोपन देखाउँदैन। प्रधानमन्त्रीले सार्वजनिक रूपमै ७० प्रतिशत उत्तीर्ण बनाउने प्रतिबद्धता जनाएपछि यस नतिजामा राजनीतिक प्रभावको आशंका पनि उठेको छ।

यद्यपि, एसईईको नतिजा कुनै विद्यार्थीको सम्पूर्ण भविष्य होइन। ननग्रेडेड विद्यार्थीहरूलाई पुनः प्रयास गर्ने अवसर छ, र उनीहरूको आत्मबल बढाइदिन अभिभावक, शिक्षक र समाजको जिम्मेवारी पनि उत्तिकै छ। शिक्षामा सुधारको काम केवल आँकडाको सुधारमा सीमित नहोस्। विषयगत शिक्षक, पाठ्यपुस्तक, पठनपाठनको शैली, विद्यालयको वातावरण सबैलाई मिलाएर मात्र गुणस्तरीय र समावेशी शिक्षातर्फ देश उन्मुख हुनसक्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार