सर्लाही – ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ नामको आवरणमा चलाइएको गैरकानुनी डेटिङ एप र क्रिप्टो कारोबारको धन्दा प्रहरीले ललितपुर र काठमाडौंमा छापा मारेर छ चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घरमा कल सेन्टर र मेटो नामको डेटिङ एपको संचालन गरिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। कम्पनी दर्ता गरिए पनि कार्य भने गैरकानुनी रूपमा भइरहेको प्रहरीले जनाएको छ।

उक्त कम्पनीको अर्को शाखा काठमाडौं महानगरपालिका–१३ चागलमा समेत सञ्चालन गरिएको थियो। त्यहाँ विभिन्न नेपाली युवतीहरूलाई प्रलोभन देखाई डेटिङ एपमार्फत विदेशी व्यक्तिहरूसँग अनलाइन संवाद गराएर ठगी तथा क्रिप्टो कारोबार चलाइँदै आएको थियो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको नगद १३ लाख ९९ हजार ९५० रुपैयाँ, ७ थान ल्यापटप र ५४ थान मोबाइल समेत बरामद गरेको छ। छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने अन्य ४६ जनामाथि अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार अनुसन्धान पश्चात थप कानुनी प्रक्रिया अघि बढाइनेछ।





