सर्लाही — मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व मोहर्रम अन्तर्गत निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’ शान्तिपूर्ण रूपमा सम्पन्न गर्न डिजे (DJ) र हतियार प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
असार २२ गते आइतबार ताजिया जुलुस अघि बढाउने तयारीस्वरूप वीरगन्ज महानगरपालिकामा मेयर, सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाबीच भएको संयुक्त छलफलले धार्मिक सौहार्द कायम राख्दै पर्व मनाउन ६ बुँदे निर्णय सार्वजनिक गरेको छ।

छलफल अनुसार, वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजिया घण्टाघरमा जम्मा हुनेछन्। प्रत्येक वडाबाट निकालिने जुलुसको संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्नेछ। यस वर्षको ताजिया जुलुसमा डिजे साउण्ड र हातहतियार प्रदर्शन पूर्ण निषेध गरिएको छ।
बालबालिकाको सहभागिता पनि रोकिएको छ भने जनस्वास्थ्यमा असर पार्ने कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाइएको छ। कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मेयर राजेशमान सिंहको संयोजकत्वमा मुस्लिम समुदायका प्रतिनिधि तथा सुरक्षा निकायहरू सम्मिलित अनुगमन समिति गठन गरिएको छ। सुरक्षा व्यवस्था स्थानीय प्रहरी प्रशासनले सम्हाल्नेछ।
गत चैतमा हनुमान जयन्तीका क्रममा वीरगन्जमा देखिएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्ने उद्देश्यले यसपटक स्थानीय प्रशासन र सरोकारवालाहरू विशेष सतर्क देखिएका छन्। धार्मिक सहिष्णुता कायम राख्दै ‘ताजिया’ शान्तिपूर्वक सम्पन्न गराउन सुसंगठित तयारी गरिएको छ।





