मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारमा रहेको एक कुखुरा फार्ममा बिहीबार दिउँसो आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ भने एक जना कामदार घाइते भएका छन्। स्थानीय आसनारायण महतोले सञ्चालन गर्दै आएको सो कुखुरा फार्ममा विद्युत चुहावटका कारण आगलागी भएको बताइएको छ।
आगलागीमा परेर फार्ममा रहेका करिब ३ हजार ३ सय चल्ला जलेर नष्ट भएका छन्। साथै फार्ममा रहेका लत्ताकपडा र नगदसहित झन्डै २५ देखि ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। आगलागिपरी सो फार्ममा काम गर्दै आएका १८ वर्षीय मिथलेश सहनी घाइते भएका छन्।

उनी बसबरिया–३, मल्दिलवाका स्थानीय हुन्। हाल उनको बरहथवा बजारस्थित ह्यापी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रत्यक्षदर्शी गजेन्द्र साहका अनुसार आगो अत्यन्तै चाँडो फैलिएको थियो। समयमै हरिवन नगरपालिकाको बारुण यन्त्र, प्रहरी टोली र स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो।





