सर्लाही – मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेको एक निर्णय उच्च अदालत जनकपुरले उल्ट्याएको छ। अदालतले प्रदेश सरकारलाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा १० औँ तहका राजीव झालाई निमित्त प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो। सो निर्णयमार्फत ११ औँ तहका प्रमुख डा. सुनिल कुशवाहालाई हटाएर झालाई जिम्मेवारी दिने व्यवस्था मिलाइएको थियो।

तर, आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै डा. कुशवाहाले उच्च अदालत जनकपुरमा रिट दायर गरेपछि अदालतले उक्त निर्णयमाथि अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश राजुराम सिलवालको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने आदेश दिएको हो।
साथै, अदालतले निवेदक डा. कुशवाहासहित विपक्षी मधेस सरकारलाई २७ गतेको पेशीमा उपस्थित हुन पनि निर्देशन दिएको छ। त्यसबीचमा सम्बन्धित पदमा कुनै नयाँ कर्मचारी खटाउन नपाइने स्पष्ट आदेश समेत अदालतले दिएको छ।





