रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध सर्लाहीमा जनताको हस्ताक्षर अभियान

२०८२ असार २०, शुक्रबार ०६:३५

मलंगवा – राष्ट्रिय स्वतन्त्र पार्टीले सर्लाहीमा जनताको हस्ताक्षर अभियान तीव्र बनाएको छ। पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको यस अभियानले स्थानीयस्तरमा उल्लेख्य जनसहभागिता जुटाइरहेको छ।

सर्लाहीको ईश्वरपुरमा बिहिबार आयोजित कार्यक्रममार्फत अभियानको औपचारिक सुरुवात गरियो। तर, जिल्ला सभापति सरोज बानियाँका अनुसार सर्लाहीको बरहथवाबाट असार १० गतेदेखि नै अभियान सुरु भइसकेको हो भने केन्द्रस्तरमा असार ७ गतेदेखि थालिएको थियो।

“हामी सर्लाहीमा ५० हजार नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्यसहित अघि बढेका छौँ,” सभापति बानियाँले बताए, “हालसम्म २० हजारभन्दा बढीले साथ दिइसकेका छन्।” पार्टीले यो अभियान सरकारद्वारा गरिएको ‘राजनीतिक ज्यादती’, विकास निर्माणको उपेक्षा, तथा न्यायपालिकामाथिको राजनीतिक प्रभाव हटाउन जनमत निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरेको बताएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिकाका सभापति सुवर्ण राज घिमिरेका अनुसार यो अभियान जिल्लामा ९० दिनको अवधिका लागि भए पनि एक महिनाभित्रै सम्पन्न गर्ने तयारी गरिएको छ। “बरहथवा, मलंगवा जस्ता क्षेत्रमा अभियान सकिएको छ। अब अन्य पालिकामा पनि हस्ताक्षर संकलन अघि बढाइएको छ,” घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार