जाजरकोटमा अस्थायी टहरामा सुतिरहेका दिदीबहिनीमाथि ढुङ्गा खस्दा घटनास्थलमै मृत्यु

२०८२ असार २०, शुक्रबार ०६:४३

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा अस्थायी टहरामा सुतिरहेकी दुई दिदीबहिनीको माथिबाट ढुङ्गा खसेर मृत्यु भएको छ। बिहीबार राति करिब ९ बजेको समयमा १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको टाउकोमा ढुङ्गा खस्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

दुवै किशोरी आफ्ना बुबा नरबहादुर बुढासँगै टहरामा बस्दै आएका थिए। उनीहरू भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरामा बाख्रा गोठमा सुतिरहेका थिए। वर्षात्का कारण माथिबाट ढुङ्गा खसेर टहरामाथि बज्रिएको र त्यसकै चपेटामा परेर दिदीबहिनीको ज्यान गएको वडाध्यक्ष बुढाले बताए।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक विवरण संकलन गरेको प्रहरी जवान महेश सिंहले बताए। निरन्तर वर्षाका कारण पहिरोको जोखिम रहेका स्थानमा स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार