गाउँमै पसिना बगाएर मिठास कमाइ: उखुको जुस बेचेर महतोको मासिक ४५ हजार आम्दानी

२०८२ असार २०, शुक्रबार १०:१३

सर्लाही – रौतहटको राजदेवी नगरपालिका–७ का गौरी महतोको बिहान उखु मिसिने आवाजसँगै सुरु हुन्छ । घाम चढ्दै जाँदा उनको जुसको स्टलमा भीड लाग्न थाल्छ । भारतका शहरमा काम गर्दा घर परिवार टाढिनुपरेको पीडाले थिचिएका महतो आज आफ्नै गाउँमा पसिना बगाएर मीठो मिठास कमाउँदै छन् । महतोले १० वर्षदेखि उखुको जुसको व्यापार गर्दै आएका छन् ।

फागुनदेखि कात्तिकसम्म गरि नौ महिनासम्म चल्ने यस व्यवसायबाट उनी मासिक ४५ हजार रुपियाँसम्म आम्दानी गर्छन् । गर्मीयाममा विशेषतः चर्को घाममा ताजगी खोज्नेहरूको रोजाइमा महतोको जुस पर्ने गर्छ । “विदेशमा तातो घाममा परिश्रम गर्दा न त मन शान्त हुन्थ्यो, न त आम्दानी नै राम्ररी हुन्थ्यो,” महतो सम्झन्छन्, “अब आफ्नै ठाउँमा पसिना बगाएर परिवारसँग बसेर व्यापार गर्नु नै ठीक लाग्छ ।”

उखुको जुस सानो गिलासको ३० र ठूलो गिलासको ४० रुपियाँमा बिक्री हुने महतो बताउँछन् । गौरसँगै राजपुर, लौकाहा, बंकुललगायतका बस्तीहरूमा उनी जुस बेच्न पुग्छन् । तीन छोराछोरीको पढाइदेखि ११ जनाको घरखर्च चलाउने स्रोत यही व्यापार बनेको छ । “अब त भाइ र छोराले पनि यही व्यवसाय सुरु गरेका छन्,” महतो मुस्कानसाथ सुनाउँछन् ।

जुस बनाउनका लागि उनी घर नजिकै ब्रह्मपुरीबाट वर्षेनी करिब एक बिघा उखु किन्छन् । “बजारमा देखिने तयारी जुसभन्दा ताजा र शुद्ध जुस स्वास्थ्यका लागि फाइदाजनक भएकाले ग्राहक पनि बढेका छन्,” उनले बताए । महतोको सफलताको कथा केवल जुसको व्यापार मात्र होइन, गाउँ फर्किएर स्वाभिमानसँगै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार