मलंगवा – सर्लाहीको बलरा नगरपालिकामा शुक्रबारदेखि दुई दिवसीय योग महोत्सव सुरु भएको छ। बलरा नगरपालिकाको आयोजना र श्री सीताराम माध्यमिक विद्यालय, अचलगढको सहकार्यमा सुरु भएको महोत्सवको उद्घाटन नगरप्रमुख रामाशंकर कुशवाहाले गरे।
पतञ्जलि योग समिति सर्लाहीका प्रमुख तथा जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कौशल किशोर सिंह प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा समाजसेवी डा. कमलेश्वर प्रसाद सिंह, नगरका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो।

शुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होशनारायण सिंहले अतिथिहरूलाई स्वागत गर्दै योगको वैज्ञानिक महत्व र जीवनमा त्यसको प्रभावबारे प्रकाश पारे। महोत्सवमा योग प्रशिक्षक त्रिलोकेन्द्र रायसहितको टोलीले विभिन्न आसन, प्राणायाम र ध्यान विधि प्रशिक्षण दिइरहेका छन्।
प्रमुख अतिथि सिंहले नगरले यस्तो सकारात्मक र जनस्वास्थ्यसँग जोडिएको कार्यक्रम गरेकोमा प्रशंसा गर्दै नगरका सबै वडामा योग शिविर विस्तार गर्न आग्रह गरे। सोही क्रममा नगरप्रमुख कुशवाहाले आफू प्रतिबद्ध रहेको जनाउँदै, “सामाजिक रुपान्तरणका लागि मानसिक र शारीरिक सशक्तिकरण जरुरी छ, त्यसैले सबै वडामा योग शिविर सञ्चालन गरिनेछ,” भन्ने घोषणा गरे।
दुई दिनसम्म चल्ने महोत्सवमा बिहान र साँझ दुई सत्रमा योग अभ्यास, ध्यान र स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिने जनाइएको छ। आयोजकले स्थानीय जनताको उत्साहजनक सहभागिता पाइरहेको बताउँदै योगलाई निरन्तर अभियान बनाउने तयारी भइरहेको जानकारी गराएका छन्।





