जनकपुर – भारतको हिमाचल प्रदेशमा भीषण वर्षासँगै आएको बाढी, पहिरो र बादल फाट्ने घटनाले अहिलेसम्म ४३ जनाको ज्यान लिएको छ भने ३७ जना अझै बेपत्ता छन्। हिमाचलको विपद् व्यवस्थापन विभागका अनुसार जुन १९ बाट सुरु भएको मनसुन यतिबेला भारी विनाशका साथ फैलिएको छ।
विभिन्न स्थानमा लगातारको वर्षा र बादल फाट्ने घटनाका कारण ठुलो जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसबाहेक, मनसुन अवधिमा भएका सडक दुर्घटनाबाट मात्रै २६ जनाको मृत्यु भएको छ। प्रदेशमा वर्षा र बाढीका कारण हालसम्म ५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान छ।

सवैभन्दा बढी असर मन्डी जिल्लामा परेको छ, जहाँ २० जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँका ८० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भइसकेका छन्। ब्यास नदीमा पानीको सतह उच्च भएपछि आसपासका बस्ती जोखिममा परेका छन्। प्रदेशमा वर्षा र पहिरोका कारण २४५ सडक अवरुद्ध भएका छन्।
४०४ विद्युत ट्रान्सफर बन्द भएका छन् भने ७८४ वटा खानेपानी योजना ठप्प भएका छन्। यहीबीच, भारत मौसम विज्ञान विभागले आगामी जुलाई ७ सम्म उच्च सतर्कता अपनाउन भन्दै अलर्ट जारी गरेको छ। मौसमको थप प्रतिकूलता कायमै रहने देखिएकोले स्थानीय प्रशासन र उद्धार टोलीलाई अझ सतर्क र सक्रिय बनाइएको छ।





