सर्लाही – नेपालमा वर्षेनी सिजनसँगै डेंगु रोगको त्रास बढ्ने गर्दछ । विशेषगरी मनसुनको समय, जब पानी जम्ने ठाउँहरू धेरै हुन्छन्, त्यसबेला डेंगु तीव्र रूपमा फैलिने गर्दछ ।
डेंगु एक प्रकारको भाइरल रोग हो, जुन एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेषगरी बिहानको समय (८ बजे देखि १० बजेसम्म) र बेलुकाको समयमा (४ बजे देखि ६ बजेसम्म) बढी सक्रिय हुन्छ ।

डेंगु रोग के हो ?
डेंगु भाइरस (DENV) का चार प्रकार (DENV-1, DENV-2, DENV-3 र DENV-4) हुन्छन् । एकपटक संक्रमण भइसकेपछि सोही प्रकारको भाइरसबाट जीवनभर रोग प्रतिरोधात्मक क्षमता मिल्छ, तर अन्य प्रकारको भाइरसबाट फेरि पनि डेंगु हुन सक्छ । दोस्रोपटक संक्रमण झनै गम्भीर हुन सक्छ ।
कसरी सर्छ ?
डेंगु भाइरस लागेका व्यक्तिलाई टोकिसकेको एडिस लामखुट्टेले जब अर्को व्यक्तिलाई टोक्छ, तब संक्रमण सर्छ । यो रोग संक्रमित व्यक्तिबाट प्रत्यक्ष सर्छ भन्ने होइन, संक्रमित लामखुट्टेबाट मात्र सर्छ ।
एडिस लामखुट्टे सफा पानीमा पाइने ठाउँमा प्रजनन गर्छ, जस्तै:
- फूलदानी
- प्लास्टिकका भाँडाहरू
- पानी जमेको ट्यांकी
- टायर
- खुल्ला भाँडोहरू
डेंगुका लक्षणहरू
डेंगु संक्रमणका लक्षणहरू संक्रमित भएको ३–७ दिनभित्र देखिन थाल्छन् । लक्षणहरू यसप्रकार छन्:
- उच्च ज्वरो (१०२–१०४ डिग्री फारेनहाइट)
- टाउको दुख्ने
- आँखाको पछाडिको भाग दुख्ने
- मांसपेशी र जोर्नी दुख्ने
- शरीरमा रातो डाम देखिनु
- बान्ता वा वाकवाकी लाग्ने
- थकान महसुस हुने
गम्भीर अवस्थाहरूमा (डेंगु हेमोराजिक फिभर या डेंगु सक सिन्ड्रोम):
- रगत जम्न नपाउने
- गिजाबाट वा नाकबाट रगत आउनु
- पेट दुख्ने र गम्भीर अपच
- रक्तचाप घट्ने
- बेहोस हुनसक्ने अवस्था
डेंगुबाट बच्ने उपायहरू
१. लामखुट्टे टोक्न नदिनु
- पूरा शरीर ढाक्ने लुगा लगाउने
- लामखुट्टे भगाउने क्रिम, सर्पोल प्रयोग गर्ने
- मच्छरदानीमा सुतेर लामखुट्टेबाट जोगिने
२. लामखुट्टे बन्न नदिने उपायहरू
- वरिपरि सफा राख्ने
- पानी जम्न नदिने
- प्लास्टिकका भाँडो, ट्यांकी, टायर आदिमा पानी नजम्ने व्यवस्था मिलाउने
- हप्तामा कम्तिमा एकपटक पानी भरेको भाँडो सफा गर्ने
३. सामुदायिक जागरूकता
- घर, विद्यालय र कार्यक्षेत्र वरिपरि डेंगुको सम्भावित स्रोत खोजेर सफा गर्ने,
- स्वास्थ्य संस्था र स्थानीय सरकारसँग सहकार्य गरी लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गर्ने
उपचार के छ ?
डेंगुको कुनै निश्चित एण्टिभाइरल औषधि छैन । लक्षणअनुसारको उपचार मात्र गरिन्छ, जसमा धेरैजसो बिरामीलाई आराम, तरल पदार्थ (ORS, पानी, जुस) र सामान्य ज्वरो घटाउने औषधि (Paracetamol) दिइन्छ ।
Aspiring वा Ibuprofen जस्ता औषधि भने प्रयोग गर्न नहुने सल्लाह दिइन्छ, किनकि तीले रगत बगाउने समस्या बढाउन सक्छन् । गम्भीर अवस्थामा अस्पताल भर्ना गरी रगत चढाउनु, इभि लागाउनुजस्ता उपचार आवश्यक पर्न सक्छ ।





