भारत आएर मिर्गौला बेच्दै बंगलादेशी, पुरै गाउँ तस्करीको शिकार

२०८२ असार २१, शनिबार १३:०४

सर्लाही – बंगलादेशको उत्तरपश्चिमी जयपुरहाट जिल्लास्थित सानो गाउँ ‘एक किड्नी गाउँ’ को रूपमा कुख्यात बन्दै गएको छ। अल जजीराको एक रिपोर्टले यो गाउँका करिब प्रत्येक ३५ जनामा एकजनाले मिर्गौला बेचेको तथ्य सार्वजनिक गरेपछि गाउँको नामै मेटिएको छ, अस्तित्वमाथि प्रश्न उठेको छ।

गरिबी, ऋणको बोझ र बाँच्नुपर्ने विवशताले थिचिएका बासिन्दाहरूलाई मानव अंग तस्करीको सञ्जालले जालमा पारेको छ। ४५ वर्षीय सफिरुद्दीन भारत आएका थिए, आशामा, घर बनाउने सपना बोकेर। २ लाख ५० हजार भारुमा मिर्गौला बेचे, तर घर अधुरो रह्यो, शरीरको बल हरायो। अब उनी पीडामा छन् न सपना बाँकी छ, न शरीरको ताकत।

भारत र बंगलादेशबीच फैलिएको अवैध अंग तस्करी सञ्जालले ‘दान’को नाममा खरिदबिक्रीलाई संस्थागत बनाएको छ। भारतको मानव अंग प्रत्यारोपण ऐन १९९४ अनुसार आफन्तबाहेक मिर्गौला दान गर्न सकिन्न। तर सञ्जालले नक्कली कागजात, नक्कली सम्बन्ध र मिलेमतोमा अस्पताल हुँदै मिर्गौला प्रत्यारोपण गराइरहेका छन्।

जयपुरहाटकी जोशना बेगमको उदाहरण झनै डर लाग्दो छ। कोलकाताको अस्पतालमा लगिएर मिर्गौला निकालियो। ७ लाख टाकाको वाचा गरियो, तर ३ लाखमै पर्खाल ठोकियो। अहिले उनी आफैं दलाल बनेकी छन्। ढाकामा इकमर्स ठगीमा डुबेका मोहम्मद सजलले पनि यही बाटो रोजे। दिल्लीमा मिर्गौला बेचे, पैसा नपाएपछि अरूलाई यही बाटो देखाउन थाले।

रिपोर्ट अनुसार यो सञ्जालमा भारत-बंगलादेशका अस्पताल, डाक्टर, दलाल, कागजात बनाउने एजेन्ट सबैको संलग्नता छ। बंगलादेश प्रहरी केही दलाल पक्राउ परेका दाबी गर्छ। दिल्ली प्रहरीले पनि गत वर्ष एक महिला सर्जनलाई १५ जना बंगलादेशीको अवैध प्रत्यारोपण गरेको अभियोगमा पक्राउ गर्‍यो।

तर, तस्करी रोकिनुको साटो थप जटिल बन्दै गएको छ। बिरामीले १८–२२ लाख भारु तिर्छन्, बेच्नेलाई २.५–४ लाख मात्र पुग्छ। बाँकी पैसा सञ्जालका सदस्यबीच बाँडिन्छ। केहीलाई त रोजगारीको बहानामा भारत पुर्‍याएर जबरजस्ती मिर्गौला निकालिएको समेत रिपोर्टमा उल्लेख छ।

भारतको ७.६ अर्ब डलरको ‘हेल्थ टुरिजम’ उद्योगको छायाँमा मिर्गौला तस्करी बढेको आशंका गरिएको छ। अस्पतालहरूको मौनता र नियामक संस्थाको कमजोरीले यो कुकर्म झन फैलिएको छ।

मिर्गौला शरीरको अत्यावश्यक अंग हो यसले विषाक्त पदार्थ छानेर शरीर सफा राख्छ। मिर्गौला विफल हुँदा शरीरमा विष बढ्न थाल्छ, जीवन संकटमा पर्छ। तर गरिबीले गर्दा धेरैलाई आफ्नो शरीर बेच्न बाध्य बनाइएको छ। ‘किड्नी गाउँ’ आज भोलि पूरै देशको पीडाको प्रतीक बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार