एसपीसँगको गालीगलौजपछि फेरि सतहमा आयो जसपा नेता यादवको आपराधिक इतिहास

२०८२ असार २१, शनिबार १९:०२

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार यादवविरुद्ध यसअघि नै सातवटा आपराधिक मुद्दा दर्ता भइसकेको खुलासा भएको छ।

जसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका यादवविरुद्ध चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।

उनका अनुसार यादवमाथि एक चोरी, पाँच अभद्र व्यवहार र एक ज्यान मार्ने उद्योगको मुद्दा छ। पछिल्लो घटनामा भने उनले एसपी खड्कालाई टेलिफोनमार्फत ‘लुटेरा’ भन्दै अपशब्द प्रयोग गरेका थिए।

गालीगलौजपछि जिल्ला प्रहरी कार्यालयले बिहीबार राति ११ बजे यादवलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेको थियो। तर यादवले प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि गाउँलेको सहायतामा ढुंगामुढा गराएर भागेका थिए।

डिएसपी राईका अनुसार, “रातको ११ बजे खोजी गर्दै जाँदा बाटोमै ढुंगामुढा भयो, जसले गर्दा त्यसबेला पक्राउ सम्भव भएन।” शुक्रबार यादव र एसपीबीचको अडियो संवाद सार्वजनिक भएपछि जिल्ला अदालतबाट यादवविरुद्ध आपराधिक उपद्रव मुद्दामा पक्राउ अनुमति लिइएको थियो।

त्यसपछि प्रहरीको व्यापक परिचालनसहित पुनः पक्राउ प्रयास सुरु गरिएको थियो। “गाउँमै सुरक्षित बसेको सूचना पाएपछि जिल्लाभरिका सबै युनिटबाट एक हजारभन्दा बढी प्रहरी बोलाइएको थियो,” डिएसपी राईले बताए। तर, प्रहरीले गाउँ छापा मार्दा यादव फेरि फरार भएका थिए।

हाल प्रहरी यादवको खोजीमा खटिएको छ। विभिन्न सम्भावित स्थानमा सूचनाको आधारमा निगरानी बढाइएको डिएसपी राईले जानकारी दिए।

यादवविरुद्ध अघिल्ला मुद्दाहरूको विवरण:
-२०५७ पुस ८: मलंगवामा कृषि कार्यालयकर्मीमाथि गालीगलौज र हातपात
-२०६६ असोज १०: शिक्षा कार्यालयको गाडी तोडफोड, सिसा फुटाई नगद लुटिएको आरोप
-२०७२ पुस ५: प्रशासन कार्यालयमा तोडफोड, कर्मचारीमाथि हुलहुज्जत
-२०७२ फागुन ५: मादक पदार्थ सेवन गरी प्रहरीमाथि गालीगलौज
-२०७३ साउन १३: कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की
-२०७३ मंसिर २९: प्रहरी चेकजाँचमा अवरोध र गालीगलौज
-२०७७ जेठ २७: सडक विवादमा कुटपिट, ज्यान मार्ने उद्योगको आरोप

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार