सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ की एक १५ वर्षीय बालिका भारतको सितामढीमा हराएको सूचनालाई आधार बनाएर सर्लाही प्रहरीले ती बालिकालाई सकुशल उद्धार गरी नेपाल फर्काएको छ। प्रहरी सई सुवास यादवको नेतृत्वमा गरिएको उक्त उद्धार अभियान सफल भएको हो।
बालिका जेठ २२ गतेदेखि बेपत्ता थिइन्। प्रारम्भिक अनुसन्धानमा उनी मदनपुरका विवेक गिरीसँगको सम्बन्धका कारण भारत गएको हुन सक्ने जानकारी खुलेको थियो। बालिकाकी आमा रिनादेवीको निवेदनपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

सई यादवले सूचना प्रविधिको सहायताले बालिकाको लोकेसन पत्ता लगाउँदै भारतको सितामढी प्रहरीसँग समन्वय गरे। अन्तरदेशीय समन्वयपछि उद्धार टोलीले ती बालिकालाई सकुशल नेपाल ल्याउन सफल भयो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले नेपाल–भारत सुरक्षाकर्मीबीचको छरितो समन्वयकै कारण उद्धार छिटो सम्भव भएको बताए। “यस्तो समन्वयकारी कामले सीमा क्षेत्रका जटिल समस्यालाई समेत सहज बनाउन सक्छ,” उनले भने।
वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले बालिका उद्धारप्रति प्रहरी टोलीको सक्रियता प्रशंसनीय भएको भन्दै आगामी दिनमा यस्ता उद्धारकार्यका लागि यो उदाहरण बन्ने विश्वास व्यक्त गरे।
ईलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत सई सुवास यादवले यसअघि महिला तथा बालबालिका सेवा कक्षमा कार्यरत रहँदा २५ जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरेका थिए। त्यस्तै, उनले विभिन्न समयमा १८२ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको प्रहरी स्रोतको भनाइ छ।
सई यादवको निरन्तर सक्रियता, अन्तरसंयोजन क्षमताको प्रयोग र व्यावसायिक निष्ठाले उनी समुदायमा सुरक्षा र प्रहरीप्रतिको विश्वास निर्माणमा एक प्रेरणादायी पात्रका रूपमा उदाएका छन्।





