अपराधी होइन, पीडित जनताको आवाज हुँ: जसपा मधेशका अध्यक्ष अशोक यादव

२०८२ असार २२, आईतवार १६:१३

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफूमाथि लागेको फरार भन्ने आरोपलाई अस्वीकार गर्दै आफू निरन्तर न्याय र अधिकारको पक्षमा लडिरहेकै स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत कडा लहजामा सार्वजनिक अभिव्यक्ति दिएका यादवले आफूमाथि लगाइएको आरोपलाई ‘राजनीतिक षड्यन्त्र’ को संज्ञा दिएका छन्।

‘जय मधेस’ को नारा दिंदै उनले भने, “म अपराधी होइन, पीडित, शोषित र विपन्न जनताको हकमा आवाज उठाउनु नै मेरो अपराध हो भने म त्यो अपराध गर्न तयार छु।” आफू फरार नभई जनताको पक्षमा सक्रिय रहेको दाबी गर्दै यादवले मधेस र मधेसीको अधिकारका लागि आफ्नो जीवन समर्पित रहेको जिकिर गरे।

“इतिहासले गवाही दिन्छ, मैले कहिल्यै डराएर नलुकेको र नलुक्ने स्वभावको व्यक्ति हुँ,” उनले प्रतिक्रिया दिएका छन्। यादवले प्रहरी प्रशासनले आफूलाई ‘राजनीतिक हिसाबकिताब’ मिलाउन खोजेको आरोप लगाउँदै रातको समयमा आफ्नै घरमा प्रहरी छापा मारिएको दाबी गरे। उनका अनुसार, राति १२ बजे ‘डकैती शैली’ मा छापा मारिएको थियो र त्यस क्रममा उनका छोरालाई कुटपिट गरिँदा गम्भीर चोट लागेको छ।

“मेरो छोराको गर्दनको नसा चुँडिएको छ। यो मानवीयता विपरीतको अमानवीय कार्य हो,” उनले भनेका छन्। घटना लगत्तै गाउँलेहरू आक्रोशित भई ढुंगामुढा गरी प्रहरीलाई फर्काएको पनि यादवले उल्लेख गरे। हाल उनी छोराको उपचारका लागि बाहिर रहेको बताएका छन्। “म अपराधी होइन, म मधेसको सिपाही हुँ।

सधैं मधेस र न्यायको पक्षमा लडिरहनेछु,” भन्दै उनले संचार माध्यमहरूलाई प्रमाणबिना हतारिएको समाचार नछाप्न पनि आग्रह गरेका छन्। उनको यो अभिव्यक्तिले मधेशमा नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।

यादवले मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा व्यापक भ्रष्टाचार र अनियमितता भइरहेको र त्यस्तो कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर भ्रष्ट कर्मचारीलाई सुरक्षा दिएको भन्दै एसपी खड्कासँग असन्तुष्टि व्यक्ति गरेका छन् । असन्तुष्टी व्यक्त गर्नेक्रममै यादव र एसपीबिच अपशब्द प्रयोग गर्दै भनाभन भएको थियो।

सार्वजनिक फोन संबादमा पहिले एसपी खड्काले नै गालि गर्न सुरु गरेका छन्। सपाका नेता कार्यकर्ता र प्रदेश अध्यक्ष यादवका समर्थकले एसपी खड्का पनि गालीगलौचमा उत्रिएकाले उनीमाथि पनि कारवाही हुनुपर्ने र उनीमाथि लगाईएका झुटा मुद्दा खारेज गर्न माग गर्दै शनिबार मलंगवामा बिरोध प्रदर्शन समेत गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार