टेक्सासको कहर: बाढीले ८१ को ज्यान लियो, अझै ४१ बेपत्ता

२०८२ असार २३, सोमबार ०८:१७

जनकपुर – अमेरिकाको टेक्सास राज्य पछिल्ला दिनमा भयावह बाढीको चपेटामा परेपछि हालसम्म मृत्यु हुनेको संख्या ८१ पुगेको छ। सीएनएनका अनुसार ज्यान गुमाउनेहरूमध्ये २८ जना बालबालिका रहेका छन्।

सबैभन्दा बढी क्षति केर काउन्टीमा देखिएको छ, जहाँ मात्र ६८ जनाको मृत्यु पुष्टि गरिएको छ। ग्रीष्मकालीन शिविरमा सहभागी ११ बालिका अझै बेपत्ताको सूचीमा छन्। उद्धार टोलीहरूले बाढीको पहिलो ३६ घण्टाभित्रै ८५० भन्दा बढीलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएका छन्।

बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन जिल्लालाई बढी क्षति पुर्‍याएको छ। मौसम पूर्वानुमानले अझै तीव्र वर्षाको सम्भावना देखाएकोले जोखिम कायमै रहेको जनाइएको छ।

टेक्सास राज्य सरकारले कम्तीमा ४१ जना अझै हराइरहेको पुष्टि गरेको छ। हराइरहेका व्यक्तिहरुको खोजीका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्य तीव्र पारिएको बताइए पनि विषम मौसम र कठिन भूगोलका कारण चुनौती थपिएको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार