नेपाल भित्र नेपाल बसोस्: पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन सन्देशमा संवेदनशील प्रार्थना

२०८२ असार २३, सोमबार १३:४८

सर्लाही – “यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने हो,” पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार आफ्नो ८० औं जन्मदिनको अवसरमा भनेका छन् । बाढी, पहिरो र रोगको जोखिमबीच जन्मदिन मनाउँदै उनले देश र जनताप्रति चिन्ता व्यक्त गरे ।

निर्मल निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वराजाले अहिलेको समयमा सबै नेपाली सतर्क र सजग रहनुपर्ने बताए । उनले भने, “अहिले वर्षाको समय हो । बाढी, पहिरोको जोखिम छ, पानीजन्य रोगहरू पनि बढ्न सक्छन् । विचार गरेर बस्नुस्, सतर्क रहनुस् मेरो आग्रह यही हो ।”

शाहले नेपाली पहिचानलाई बाहिरी आवरणभन्दा गहिरो भावनामा खोज्नुपर्ने धारणा पनि राखे । “नेपालमा जन्मिएर मात्र नेपाली हुँदैन, नेपाल हाम्रो भित्र हुनुपर्छ । अनि मात्रै हामी सच्चा नेपाली बन्छौं,” उनले भने ।

पूर्वराजाको जन्मदिनका अवसरमा निर्मल निवासमा शुभकामना दिन आएका समर्थकहरूको भिड लागेको थियो । जन्मोत्सव अवसरमा उनले गरेको सम्बोधन राजनीतिक भन्दा मानवीय चिन्ता र राष्ट्रिय भावनाले भरिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार