रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२०८२ असार २३, सोमबार १७:५९

सर्लाही – धनुषाको हंसपुर नगरपालिकामा पीपीसी ढलान योजनासम्बन्धी व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोही योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हंसपुर नगरपालिकाकी पूर्व उपमेयर रेणुदेवी झासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०७६/०७७ को नगर सभाबाट पारित योजनाअनुसार वडा नं. ५ अन्तर्गत सुगा निकास टोलदेखि कट्टी चोकसम्म पीपीसी ढलान गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, अख्तियारका अनुसार योजनाको कार्यान्वयनको क्रममा काम नगरी झुठा नापी किताब तयार पारिएको र मिलेमतोमा ५२ लाख ७२ हजार १६८ रुपैयाँ भ्रष्टाचार गरिएको खुलेको छ।

विशेष अदालतमा दायर मुद्दामा पूर्व उपमेयर झाका अतिरिक्त तत्कालीन प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सबइन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा तथा निर्माण व्यवसायी शुभचन्द्र मण्डलसहित ‘देव कन्स्ट्रक्सन’ नामक कम्पनीलाई प्रतिवादी बनाइएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दोषी ठहर भएअनुसार फरक–फरक बिगो माग गर्दै मुद्दा दायर गरिएको छ। ढलान योजनाको रकम टुक्राटुक्रा पारेर भुक्तानी गरिएको र योजनाको यथार्थ प्रगति नदेखिई कागजी प्रमाणका आधारमा रकम निकासा गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार