किर्ते जलसाजी मुद्दामा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ

२०८२ असार २३, सोमबार १८:२३

सर्लाही – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे किर्ते हस्ताक्षर प्रकरणमा पक्राउ परेका छन्। उनीमाथि परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली हस्ताक्षर गरेर कर्मचारी हटाउने निर्णयसम्बन्धी कागजात उच्च अदालतमा पेश गरेको आरोप छ।

उक्त मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई जनकपुरधामबाटै नियन्त्रणमा लिएको हो। धनुषा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुण बहादुर सिंहका अनुसार, शाहलाई जलसाजी र किर्ते अभियोग अन्तर्गत पक्राउ गरिएको हो।

शाहले कार्यकारी निर्देशक पासमानको नाममा हस्ताक्षरसहितको कागजात अदालतमा बुझाएपछि विवाद सुरु भएको थियो। पासमानले त्यो हस्ताक्षर आफूले नगरेको भन्दै प्रहरी र अदालतमा निवेदन दिए।

उक्त निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर परीक्षण गरिँदा त्यो किर्ते भएको पुष्टि भएको प्रहरी स्रोतको दाबी छ। यतिबेला शाहमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार