सर्लाहीमा बेवारिसे पुरुष मृत फेला

२०८२ असार २३, सोमबार १९:३९
file image

सर्लाही – हरिपुर नगरपालिका–२ को सखुवा गाउँस्थित निलकमल सामुदायिक वनमा सोमबार दिउँसो एक बेवारिसे पुरुषको शव भेटिएको छ। निगुरो टिप्न गएका स्थानीयले करिब ४० वर्ष उमेर अनुमान गरिएका ती पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव भेटिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख प्रहरी निरीक्षक रोमनराज अर्यालको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको अनुहारको चिउडोमा चोट देखिएको छ, जसले मृत्युको कारण अझै रहस्यमय रहेको बुझिएको छ। “घटनास्थलको प्रकृति अनुसार मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ,” इन्स्पेक्टर अर्यालले जानकारी दिए।

उनका अनुसार हरिपुर र घुर्कौली आसपासका स्थानीयसँग सोधपुछ गर्दा कसैले मृतकलाई चिनेका छैनन्। प्रहरीले शवको सनाखत र मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको जनाएको छ। मृतकको पहिचान खुल्नासाथ घटना थप स्पष्ट हुने प्रहरीको विश्वास छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार