सर्लाही – एसीसी यु-१६ इस्ट जोन कप २०२५ मा टिम नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका क्रिकेटर अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार विशेष सम्मान गरेको छ।
एकेडेमीको बुढानीलकण्ठस्थित चुनिखेल क्याम्पसमा आयोजित कार्यक्रममा यादवलाई एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्कीको प्रमुख उपस्थितिमा सम्मान गरिएको हो। कार्यक्रममा उनीहरूको उपस्थितिमा अभयको अनुकरणीय प्रदर्शनको प्रशंसा गर्दै भविष्यका लागि शुभकामना दिइएको थियो।

सर्लाही, मधेश प्रदेशका निवासी अभय यादव पछिल्लो चार महिनादेखि काठमाडौँ क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षणरत छन्। हालै मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको फाइनलमा सिंगापुरविरुद्ध उनले ३ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भएका थिए। ब्याटिङमा पनि उनले अविजित १० रन बनाएका थिए।
प्रतियोगिताभरि खेलेका ५ खेलमा यादवले १० विकेट लिँदै नेपालको तर्फबाट दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बने। यसअघि सुर्खेतमा सम्पन्न टीबी शाह मेमोरियल यु-१६ प्रतियोगितामा पनि उनले ७ खेलमा १९ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि जितेका थिए। यस्ता लगातार उत्कृष्ट प्रदर्शनहरूका कारण उनलाई ‘भविष्यको फास्ट बलिङ स्टार’ भनेर समेत चर्चा सुरु भएको छ।
कार्यक्रमकै अवसरमा एकेडेमीका संचालक मदन कार्कीले यादवको प्रतिभा र समर्पणको कदर गर्दै आगामी दिनमा प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरे। यादवको क्रिकेट यात्रामा यो सम्मान र छात्रवृत्ति अर्को प्रेरणादायक अध्याय भएको छ, जसले अन्य नवोदित खेलाडीहरूलाई पनि उत्कृष्टता हासिल गर्न हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।





