सर्लाही – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, जसले प्रदेशको सत्ता समीकरणमा थप अन्योलता थपेको छ। मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले आधिकारिक रूपमा समर्थन फिर्ताको जानकारी गराएकी हुन्।
यससँगै नाउपाले संघीय सरकारसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन पनि पहिले नै फिर्ता लिइसकेको छ। पछिल्लो निर्णयले नाउपाको देशभर सरकारप्रति असन्तुष्टि झल्किएको छ।

मधेश प्रदेश सभामा हाल १०७ जना सांसद छन्। जसमध्ये एमाले २५, नेपाली कांग्रेस २२, जसपा नेपाल १९, जनमत पार्टी १३, लोसपा ९, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ७, र नेपाल संघीय समाजवादी पार्टी, नाउपा तथा राप्रपाबाट एक–एक जना सांसद रहेका छन्।





