प्यासमा डुबेको सहर: खानेपानी मन्त्रीकै गृहभूमि वीरगञ्जमा पानीको हाहाकार

२०८२ असार २४, मंगलवार २०:०१

सर्लाही – देशका खानेपानी मन्त्री प्रदीप यादवको गृहसहर वीरगञ्जमै अहिले पिउने पानीको चरम अभाव देखिएको छ। गर्मीले डढेको मौसम, धरातलमा ओर्लँदो जलस्रोत, र कामचलाउ संरचनाले गर्दा वीरगञ्जका हजारौँ बासिन्दा दैनिक प्यासको पीडा सहन बाध्य छन्।

असार सकिन लाग्दा पनि वर्षाको पानी नपरेको र जमिनमुनिको पानीको सतह गहिरिँदै गएको कारण समस्या झन चर्किएको हो। वीरगञ्ज महानगरपालिका भित्रका वडा नं. १, २, ११, १३, १६, २५ र २६ लगायतका क्षेत्रमा चापाकल सुक्दै जान थालेपछि पानीकै लागि घण्टौँ लाइनमा बस्ने, ट्यांकर कुदाउने र निजी बोरिङको भरमा बाँच्नुपर्ने स्थिति आएको छ।

चापाकलबाट पानी आउन छाडेपछि स्थानीयहरु दैनिक जीवन यापनमा पनि अप्ठ्यारोमा परेका छन्। वीरगञ्जकी स्थानीय बासिन्दा सरस्वती देवी भन्छिन्, “चिया पकाउनेदेखि नुहाउने, लुगा धुनेसम्मको काम रोकिएको छ। पानी भनेपछि अहिले सुनभन्दा महँगो भएको छ।”

महानगरपालिकाले प्रदेश सरकारसँगको समन्वयमा ७५ स्थानमा डिप बोरिङ गरिरहेको भए पनि त्यो राहत अस्थायी मात्र भएको देखिन्छ। महानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहका अनुसार संघीय सरकारसँग दीर्घकालीन समाधानका लागि पहल भइरहेको छ। तथापि समस्या समाधानको गति सुस्त छ।

यसबीचमा खानेपानी उपभोक्ताको गुनासो भने थपिँदै गएको छ। महानगरमा मात्र चालु आर्थिक वर्षमा ६ सयभन्दा बढीले नयाँ धाराको लागि आवेदन दिएका छन्, तर जडानपछि पनि नियमित आपूर्ति नहुनु ठूलो समस्या बनेको छ। पानी वितरण गर्ने पाइपलाइनमा करिब ४० प्रतिशत चुहावट भएको भन्दै सुधार नगरी समाधान नहुने शाखा प्रमुख साहले बताएका छन्।

शहरको मध्यवर्ती श्रीपुर (वडा नं. १३) र सीमान्त वडा २६ मा पहिले कहिल्यै नदेखिएको अभाव अहिले टड्कारो भएको छ। यी क्षेत्रका बासिन्दाले “पानीका लागि संघीय मन्त्रीकहाँ पुग्नुपर्ने हो?” भन्ने गुनासो गरेका छन्। स्थानीयहरुले मन्त्री यादवको मौनता र बेवास्तालाई लिएर आलोचना गर्न थालेका छन्। “आफ्नै सहर प्यासले छटपटिरहँदा मन्त्रीज्यू कता व्यस्त?” भन्ने प्रश्न वीरगञ्जका सडकमा सुनिन थालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार