जनकपुर–अयोध्यालाई धार्मिक पर्यटनसँग जोड्नुपर्छ : मुख्यमन्त्री सिंह

२०८२ असार २४, मंगलवार २१:४६
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँग धार्मिक पर्यटनमार्फत सशक्त ढंगले जोड्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार सीता र रामबीचको धार्मिक सम्बन्ध जस्तै अटुट सम्बन्ध अयोध्या र जनकपुरबीच पर्यटनको माध्यमबाट स्थापित गर्न सकिन्छ, जसले प्रदेशको समृद्धिमा निर्णायक फड्को मार्न सक्छ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशद्वारा सञ्चालित ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानको समापन समारोहमा आज जनकपुरमा बोल्दै मुख्यमन्त्री सिंहले भने, “रामको दर्शन गर्न अयोध्या जाने श्रद्धालुहरूलाई जनकपुरसम्म डोर्‍याउन सकेमात्र त्यो तीर्थयात्रा पूर्ण हुन्छ भन्ने सन्देश फैलाउनु जरुरी छ।”

उनले अयोध्यामा राम मन्दिर निर्माणपछि तीर्थालुहरूको संख्यामा उल्लेख्य वृद्धि भए तापनि त्यही लहर जनकपुरसम्म नआएकोमा चिन्ता व्यक्त गरे। “केवल केही प्रतिशत मात्रै श्रद्धालु अयोध्याबाट जनकपुर आइपुग्छन्, यदि हामीले यो अनुपात बढाउन सक्यौँ भने मधेसको धार्मिक पर्यटनले नयाँ उचाइ लिन्छ,” सिंहले प्रस्ट पारे।

मुख्यमन्त्री सिंहले यो अभियान संघीय सरकारले अगुवाइ गरेर अघि बढाउनु पर्ने र आफू केन्द्रसम्म निरन्तर पहल गरिरहेको बताएका छन्। “देश बलियो भयो भने प्रदेश आफैँ सबल बन्छ,” भन्दै संघीय सरकारको भूमिकालाई निर्णायक माने।

कार्यक्रममा महासङ्घले आठवटै जिल्लामा सञ्चालन गरिएको अभियानको वृत्तचित्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको थियो। अध्यक्ष हीरालाल गौतमले भने, “मधेस सरकारले अभियानलाई अंगालेपछि हाम्रो उत्साह बढेको छ।”

अभियानको दोस्रो चरणमा तीनै तहका सरकारसँग सहकार्य गर्दै काम अघि बढाइने प्रतिबद्धता महासङ्घले जनाएको छ। कार्यक्रमको समापनमा मुख्यमन्त्री सिंहले अभियानमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार