सर्लाही – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीको व्यवहारले मधेश राजनीतिमा तरंग पैदा गरेको छ। घटनाप्रति ६ वटा प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध जनाउँदै राज्य संयन्त्रमा गहिरिँदो नस्लीय सोच र विभेदकारी कार्यशैलीप्रति चर्को आपत्ति जनाएका छन्।
सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले सर्लाहीका प्रमुख सरकारी कार्यालयहरूमा जारी लुटतन्त्र, भ्रष्टाचार र मनोमानीविरुद्ध बारम्बार आवाज उठाउँदै आएका यादवमाथि योजनाबद्धरूपमा दुर्व्यवहार गरिएको उल्लेख गरेका छन्।

विज्ञप्ताअनुसार असार १५ गते राति पूर्वाधार विकास कार्यालय सर्लाहीको मुख्य गेटमा ताला लगाएर भित्र सुरक्षा प्रहरी राखिएको थाहा पाएपछि यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र खड्कासँग फोन सम्पर्क गरेका थिए। तर सो क्रममा प्रहरी प्रमुखले ‘मधेशी’ भन्दै अपमानजनक र विभेदकारी भाषा प्रयोग गरेको आरोप छ।
यादवमाथि लगाइएको मुद्दालाई षड्यन्त्रपूर्ण र झूटा भन्दै तत्काल खारेज गर्न संयुक्त दलहरूले माग गरेका छन्। साथै जिल्ला प्रहरी प्रमुख खड्कामाथि छानबिन समिति गठन गरी कारबाहीको प्रक्रिया अघि बढाउन जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “यदि प्रहरी प्रशासनभित्र गढिएको नश्लीय सोच र विभेदकारी प्रवृत्तिको अन्त्य नभए हामी कडा सडक संघर्षमा उत्रन बाध्य हुनेछौं।”
प्रेस विज्ञप्तिमा जसपा सर्लाही अध्यक्ष शम्भु प्रसाद यादव, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जितेन्द्र कुमार साह, प्रदेश सदस्य शिव पुजन राय, जसपा जिल्ला प्रतिनिधि सजिव यादव, जनमत पार्टीका जिल्ला सचिव मिथलेश यादव र लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष दिलिप कर्णका हस्ताक्षर छन्।
विरोधमा उत्रिएका दलहरूमा जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी रहेका छन्।





