सर्लाही – चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा मधेश प्रदेश सरकारले आफ्नो कुल बजेटको ५६ प्रतिशत खर्च गरिसकेको छ।
प्रदेश लेखा नियन्त्रण कार्यालय मधेशले बुधबार बिहान ८ बजे सम्म उपलब्ध तथ्यांक अनुसार प्रदेशको कुल बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको छ।

लेखा नियन्त्रक कार्यालयले जनाएको छ कि बुधबार राति १२ बजेसम्म भुक्तानी प्रक्रिया पूरा भएपछि खर्च अझ बढ्नेछ। यो खर्च विगतका वर्षको तुलनामा वृद्धि भएको देखिन्छ।
आर्थिक वर्ष २०८०-८१ मा ५५ दशमलव ७५ प्रतिशत र २०७९-८० मा ५७ दशमलव ४२ प्रतिशत बजेट खर्च गरिएको थियो। प्रदेश सरकारले आर्थिक योजनाहरुमा तीव्रता दिँदै खर्च व्यवस्थापनमा सकारात्मक प्रगति गरिरहेको संकेत यसबाट देखिएको छ।






