आज गुरु पूर्णिमा र व्यास जयन्ती श्रद्धाभावका साथ मनाइँदै

२०८२ असार २६, बिहीबार ०८:५४

सर्लाही – आज आषाढ शुक्ल पूर्णिमा। वैदिक परम्परा अनुसार आजकै दिन गुरु पूर्णिमा र वेदव्यास जयन्ती एकसाथ मनाइँदै छ। वेदव्यासले वेद, उपनिषद् र अठार पुराण जस्ता हिन्दू धर्मग्रन्थहरू लेखी सनातन संस्कृतिको जग मजबुत बनाएको स्मरणमा उनलाई ‘आदि गुरु’ का रूपमा सम्मान गरिन्छ।

‘गु’ अर्थात अन्धकार र ‘रु’ अर्थात प्रकाश संस्कृतको व्युत्पत्तिमा आधारित ‘गुरु’ शब्दले अज्ञान हटाई ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने अर्थ दिन्छ। यही भावनालाई आत्मसात गर्दै आज देशभर शिक्षालयदेखि मन्दिरसम्म गुरुहरूको सम्मानमा विविध कार्यक्रम हुँदै छन्।

गुरुहरूलाई जीवनको मार्गदर्शक मानेर शिष्यहरूले श्रद्धाभावपूर्वक पूजा, माल्यार्पण र मिष्ठान्न भोजन अर्पण गर्ने चलन छ। कतै शिक्षकलाई तिलक लगाएर सम्मान गरिँदै छ भने कतै धार्मिक ग्रन्थ पाठ र ध्यानका माध्यमबाट व्यास जयन्ती मनाइँदै छ।

हिन्दू दर्शनमा गुरु आमा बुबासरह श्रद्धेय मानिन्छन्। वेदव्यासले जस्तै ‘अज्ञानको अन्धकार हटाई ज्ञानको ज्योति दिन सक्ने’ व्यक्तिलाई नै गुरु मानिन्छ भन्ने भावनाले आजको दिनलाई विशेष अर्थ दिइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार