सर्लाही – मधेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा अहिलेसम्मकै उच्च बजेट खर्च गर्न सफल भएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार असार २५ गतेसम्ममा कुल बजेटको ७१.४८ प्रतिशत खर्च भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हो।
मधेश सरकारले चालु आ.व. का लागि ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। त्यसमध्ये हालसम्म ३१ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ खर्च भइसकेको छ।

पुँजीगततर्फ २८ अर्ब ६१ करोडको विनियोजनमा ७५.६४ प्रतिशत अर्थात् २१ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, १५ अर्ब २८ करोडको चालु खर्चमध्ये ९ अर्ब ८७ करोड रुपैयाँ खर्च (६४.६४%) गरिएको छ।
गत आर्थिक वर्षको तुलनामा यो प्रगति उल्लेखनीय देखिन्छ। २०८०/८१ मा मधेश सरकारले ४४ अर्बको बजेट ल्याएको भए पनि ५५.७५ प्रतिशत अर्थात् झन्डै २० अर्ब रुपैयाँ फ्रिज भएको थियो। तर यो वर्ष फ्रिज घटेर २८.५२ प्रतिशतमा सीमित भएको छ।
अर्थ सचिव रामकुमार महतोका अनुसार यस वर्षको खर्च सुधार नीति, योजनाको समयमै स्वीकृति र अनुगमन प्रणाली बलियो बनाइएकाले यो प्रगति सम्भव भएको हो।





