मधेसको विवादित बजेट छानबिन गर्न सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

२०८२ असार २६, बिहीबार १८:१८

सर्लाही – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा त्रुटि रहेको भन्दै उठेका विवाद चिर्न अब छानबिन थालिने भएको छ। उक्त विषयको समाधानका लागि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय विशेष कार्यदल गठन गरिएको छ।

छानबिन समितिमा सत्ता पक्ष र विपक्ष दुवैका प्रतिनिधि समावेश गरिएका छन्। प्रमुख प्रतिपक्ष जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव तथा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव कार्यदलमा छन्।

बजेटमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षको दबाबपछि गठित यो समितिबाट अब बजेटको पुनरावलोकन हुने र विवाद समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ। सभामुख मण्डलका अनुसार समितिले यथाशीघ्र अध्ययन थाल्नेछ र प्राप्त नतिजा तथा सुझाव प्रदेशसभामा प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार