सर्लाही – जनमत पार्टीभित्र फेरि एकपटक आन्तरिक संघर्ष सतहमा आएको छ। अध्यक्ष डा. सीके राउतको नेतृत्वप्रति असन्तुष्ट रहेका नेताहरूले छुट्टै अभियान घोषणा गरेका छन्। ‘जनस्वाभिमान यात्रा’ नाम दिइएको यो अभियान असन्तुष्ट समूहको पहलमा मधेस प्रदेशको रौतहटबाट सुरु हुँदैछ।
ई. दीपक साह, ई. सुरेन्द्रनारायण यादव र वीरेन्द्र साह (सोनार) को नेतृत्वमा सञ्चालन हुने अभियान प्रारम्भिक चरणमा मधेसका आठ जिल्लामा एकैदिनको भेटघाट र संवाद कार्यक्रममार्फत अगाडि बढ्नेछ। असन्तुष्ट समूहका अनुसार यस यात्राको उद्देश्य जनतालाई पार्टीभित्रका वास्तविकता र आन्तरिक निर्णय प्रक्रियाबारे जानकारी दिनु हो।

नेता साहले पार्टी अध्यक्ष डा. राउतले ‘एकलौटी शैली’मा निर्णय गर्दै कार्यकर्ताहरूको मतलाई बेवास्ता गर्दै आएको आरोप लगाएका छन्। ‘पार्टीको नाममा केही व्यक्तिले परिवारमुखी प्रवृत्तिलाई संस्थागत गर्न खोजेका छन्,’ साहको भनाइ छ।
उनले थपे, “माथि लगाइएका आरोपहरू प्रमाणविना छन्। नौ महिना बितिसक्दा पनि कुनै आधार प्रस्तुत गरिएको छैन। पार्टीले जवाफ मागेको छ, मैले दिएको छु, तर प्रमाण देखाएको छैन।”
पार्टीभित्रको मतभिन्नतालाई सुन्ने वातावरण नभएको र कार्यकर्तासँग संवाद गर्नसमेत रोक लगाइएको भन्दै साहले डा. राउतको निर्णयप्रति आक्रोश पोखेका छन्। अध्यक्ष राउतले कारबाहीमा परेकाहरूले कुनै पनि किसिमको भेटघाट नगर्न सर्कुलर गरेको भन्दै ती कार्यलाई ‘विधानविपरीत’ करार गरिएको छ।
अभियानका नेतृत्वकर्ताहरूले यस यात्रालाई पार्टी सुदृढीकरणको अवसरका रूपमा हेरेका छन्। सुधारको बाटो बन्द भए थप निर्णायक कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।





