सर्लाही – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि दुर्व्यवहार गरेको आरोपमा सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काविरुद्ध तत्काल कारबाहीको माग गर्दै कडा चेतावनी दिएको छ । कारबाही नगरे सडक संघर्ष गर्ने चेतावनी पार्टीले दिएको हो ।
जनकपुरधामस्थित मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपाका शीर्ष नेताहरूले प्रदेश अध्यक्ष यादवलाई फोनमा एसपी खड्काले गालीगलौज मात्र नभई ‘मधेशी’ भन्दै अपमानजनक जातीय टिप्पणी गरेको गम्भीर आरोप लगाएका हुन् ।

“जनगुनासो राख्दा प्रदेश अध्यक्षलाई गाली गर्ने एसपीलाई संरक्षण दिने हो भने राज्यको चरित्र प्रष्ट हुन्छ,” पत्रकार सम्मेलनमा नेताहरूले भने, “यदि सत्तारुढ दलको नेता नै सुरक्षित छैन भने सर्वसाधारणको अवस्था कस्तो होला ?”
घटना गत असार १९ गते राति सर्लाहीको पूर्वाधार विकास कार्यालयमा भएको एक विवादसँग जोडिएको छ । जसपाका अनुसार, अध्यक्ष यादवले कमिसनको मात्रै कारोबार भइरहेको भन्ने जनगुनासो प्रहरीलाई सुनाउँदा उल्टै अपमानित हुनुपर्यो ।





