मलंगवा – जिल्ला प्रहरी कार्यालय, सर्लाहीले इलाका प्रहरी कार्यालय कमैयामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुभाष यादवलाई २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।
प्रहरी नायव निरीक्षक यादवले २०८२ असार २२ गते चेकजाँचको क्रममा परालको भुस लोड गरि लिएर आएको ट्रक भित्र लुकाई छिपाई राखेको ८२० केजी अनुमानित रु १२ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको काजुसहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएका थिए। उक्त ट्रक चालकलाई नियमानुसार आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको थियो।

त्यसका साथै, उनले ४ करोड ३६ लाख ४२ हजार ७ सय ७१ रुपैयाँ बराबरको भन्सार नतिरी तस्करी प्रयासमा ल्याइएको विभिन्न सामग्री कबाड, लत्ताकपडा, इलोक्ट्रोनिक सामान, हाडवेयर, सुपारी, औषधि लगायत १० वटा ट्रक नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएका थिए। यादवले भारतीय सीमाबाट हुने बालबालिका ओसारपसार, लागूऔषध तथा आपराधिक गतिविधिहरूमा प्रभावकारी नियन्त्रण गरेका थिए।
उनका यिनै महत्वपूर्ण योगदान, सुराकी संकलन, सूचनाका आधारमा गरिएका कारबाही, मानव तस्करी नियन्त्रण, लागूऔषध नियन्त्रण तथा सीमाक्षेत्रमा आपराधिक क्रियाकलापको रोकथाममा देखिएको सक्रियतालाई मूल्याङ्कन गर्दै उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषणा गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले उत्कृष्ट प्रहरी घोषित गरिएका यादवलाई बधाई दिँदै यस्ता उदाहरणीय कार्यप्रति प्रशंसा गरेका छन्।





