आठ हजार मिटरमाथिका हिमाल ५० पटक चढ्ने विश्वकै पहिलो आरोही निर्मल पुर्जा

२०८२ असार २७, शुक्रबार २०:३१

सर्लाही – विश्व पर्वतारोहण इतिहासमा एक ऐतिहासिक अध्याय थपिएको छ। बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ५० पटक सफलतापूर्वक चढ्दै अपूर्व कीर्तिमान कायम गरेका छन्। पछिल्लो पटक उनले पाकिस्तानको नांगा पर्वतको खतरनाक आरोहण पूरा गरेपछि उनी विश्वका पहिलो व्यक्ति बनेका छन् जसले यति पटक ‘डेथ जोन’ पार गरेका छन्। तीमध्ये २२ वटा आरोहण उनले अक्सिजनबिनै सम्पन्न गरेका हुन्।

निर्मलले यो सफलतालाई केवल व्यक्तिगत विजयको रूपमा होइन, समर्पण, सेवा र एकताको प्रतीकका रूपमा चित्रण गरे। नांगा पर्वतको शिखरमा उनले गोरखा र बेलायती विशेष फौजमा बिताएको सेवाको सम्मानमा विशेष झण्डा फहराए। “शिखरमा पुग्नु मेरो लक्ष्य होइन, उद्देश्य अरूलाई आफ्ना सपना पछ्याउन प्रेरित गर्नु हो,” उनले भने।

तर, यो आरोहण मात्र उत्सवको विषय बनेन। एउटै सिजनमा नांगा पर्वतको आरोहणका क्रममा क्लारा कोलोउचोभाको निधनले शोकको छाया पनि फैलिएको छ। क्लारा सगरमाथा, के२, कञ्चनजंघाजस्ता शिखर चढिसकेकी पहिलो चेक महिला थिइन्। निर्मलका अनुसार, “उनी केवल एक साहसी पर्वतारोही होइनन्, मेरो प्रिय साथी पनि थिइन्।” निर्मलको इतिहासचक्र सन् २०१९ मा प्रारम्भ भएको हो जब उनले १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू केवल ६ महिना ६ दिनमा चढे।

त्यसपछि उनले २०२१ मा पूर्ण नेपाली टोलीसहित के२ को अक्सिजनबिनाको पहिलो ‘विन्टर समिट’ गर्दै विश्वलाई चकित तुल्याए। नेपाली पर्वतारोहीहरूको अन्तर्राष्ट्रिय छवि उजागर गर्न उनले स्थापना गरेका ‘निम्स दाइ फाउन्डेसन’ले सफाइ अभियान, राहत वितरणदेखि भरियाहरूको जीवनस्तर सुधारसम्मका काम गर्दै आएको छ।

आज निर्मल पुर्जा एउटा नाम मात्र होइन, एउटा प्रेरणा बनेका छन्। उनि भन्छन “संघर्ष गर्नुहोस्, नम्र रहनुहोस्, सपना देख्न छोड्नुहोस् भने जीवनले शिखर पर्खिरहेको हुँदैन।” उनले अब १४ शिखर र ७ समिटको ‘ह्याट–ट्रिक च्यालेन्ज’ योजना अघि सारेका छन्। यस्तो महत्वाकांक्षी सपना बोकेर हिँड्ने व्यक्ति स्वयंको शारीरिक मात्र होइन, मानवीय क्षमताको पनि साक्षात् प्रतीक हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार