जनकपुर – चीनले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत म्याग्लेभ (चुम्बकीय लेभिटेसन) प्रविधियुक्त नयाँ सुपरस्पीड रेल सार्वजनिक गरेको छ, जुन प्रतिघन्टा ६०० किलोमिटरको गतिमा दौडन सक्षम छ। यो रेल हालको बुलेट ट्रेनभन्दा दोब्बर छिटो तथा हवाईजहाजभन्दा पनि विकल्प बन्ने गरी निर्माण गरिएको बताइएको छ।
चुम्बकीय शक्तिको प्रयोग हुने भएकाले यो रेल पाङ्ग्राविहीन छ र हावामै तैरिएर अगाडि बढ्छ। यसको प्रदर्शन हालै बेइजिङमा आयोजित १७औँ आधुनिक रेलवे प्रदर्शनीमा गरिएको थियो।

चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन (CRRC) द्वारा निर्माण गरिएको यो रेल हालसम्मकै विश्वकै सबैभन्दा छिटो ग्राउण्ड ट्रान्सपोर्ट मानिएको छ। बेइजिङ–सांघाईबीचको १,२०० किलोमिटर दूरी यस ट्रेनले मात्र २ घण्टा ३० मिनेटमै पार गर्नेछ, जुन हालको रेल सेवाले साढे ५ घण्टा लगाउँछ।
सीआरआरसीका वरिष्ठ इन्जिनियर शाओ नानका अनुसार, म्याग्लेभ रेलको पहिलो चरण निर्माण सकिएको छ भने अब परीक्षणपछि व्यावसायिक सञ्चालन सुरु गरिनेछ। ‘यो रेल २ हजार किलोमिटरको दूरीमा हवाई यात्रा र हाइस्पीड रेलको विकल्प बन्नेछ,’ उनले बताएका छन्।
म्याग्लेभ रेलमा अत्याधुनिक ५जी कम्युनिकेसन, एआई भिडियो क्याप्चर सिस्टम र विभिन्न सेन्सरहरू जडान गरिएका छन्। पूर्ण रूपमा अटोमेटिक प्रणालीमा सञ्चालन हुने यो रेल कम आवाज, कम घर्षण र न्यून मर्मत आवश्यकताका कारण ऊर्जा–दक्ष पनि हुनेछ।
यसअघि चीनले २००३ मा जर्मनीको सहकार्यमा पहिलो म्याग्लेभ रेल सुरु गरेको थियो, जसले सांघाई अन्तर्राष्ट्रिय विमानस्थललाई शहरसँग जोड्छ। चीनको आफ्नै प्रविधिमा आधारित म्याग्लेभ सेवा सन् २०१६ मा चाङ्शामा, त्यसपछि २०१७ मा बेइजिङमा सुरु गरिएको थियो। ती रेलको गति भने हाल १२० किमी प्रतिघण्टामा सीमित छ।
गत वर्ष चीनले म्याग्लेभ हाइपरलूप परियोजनाको पनि परीक्षण गर्यो, जसले प्रतिघण्टा १,००० किलोमिटरको गतिको लक्ष्य लिएको छ। यो प्रविधि अझै प्रयोगात्मक अवस्थामा छ र कम दाबयुक्त भ्याकुम ट्युबमार्फत रेल सञ्चालन गर्ने अवधारणामा आधारित छ।
चीनले आफ्नो म्याग्लेभ प्रविधिलाई अब व्यावसायिक यात्राका लागि विस्तार गर्दै लग्ने तयारी गरेको छ, जसले विश्वकै रेलयात्राको गति र स्वरूपमा नयाँ मोड ल्याउने विश्वास गरिएको छ।





