सर्लाही — नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा गत वर्ष असार २८ गते राति पहिरोसहित त्रिशूली नदीमा खसेका दुई यात्रुबसका ३९ यात्रु अझै बेपत्ता छन्। दुर्घटनामा परेका दुई बसमध्ये कुनै पनि बस अहिलेसम्म फेला परेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा.प्र.०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्समा २६ जना यात्रु थिए। तीमध्ये १० जनाको शव भेटिएको र १६ जना बेपत्ता छन्। सो बसमा सात जना भारतीय नागरिक सवार थिए। तीमध्ये दुईको शव फेला परेको र पाँच जना अझै हराइरहेका छन्।

त्यस्तै, बा.प्र.०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित उद्दार गरिएको, १० जनाको शव भेटिएको र २३ जना अझै बेपत्ता रहेको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। गणपति बसमा रहेका चार जना भारतीयमध्ये तीनको शव भेटिएको छ भने एक जना अझै हराइरहेका छन्।
दुर्घटनापछि नेपाली गोताखोरसहित विदेशबाट समेत गोताखोर बोलाइए पनि बस तथा बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन। त्रिशूली तथा नारायणी नदी किनारमा खोजी गरिएको थियो। फेला परेका २० शवमध्ये केही भारततिर बगेर गएका अवस्थामा भेटिएका थिए।
घटनापछि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले घटनाको अध्ययन गरी दिएको प्रतिवेदनमा बाढी, पहिरो तथा सडक निर्माणमा इन्जिनियरिङ मापदण्डको अभाव मुख्य कारण रहेको उल्लेख गरिएको छ।
दुर्घटनास्थलमा क्रस स्लोप बढी भएको, पर्खाल नबनाएको, सडक कमजोर भूगोलमा खनिएको र वर्षात्को समयमा पहिरो गएको निष्कर्ष प्रतिवेदनले निकालेको छ। कार्यदलले प्रतिवेदनमा मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमाको रकम तत्काल उपलब्ध गराउने, वेपत्ताको खोजी निरन्तरता दिने र सडक निर्माणमा इन्जिनियरिङ मापदण्ड पालन गर्नुपर्ने सुझाव दिएको छ।
गृहमन्त्री रमेश लेखकले प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। तर, घटनाको एक वर्ष पुग्दा पनि बेपत्ता ३९ यात्रुको अवस्था पत्ता लाग्न नसक्नुले सरकारी प्रयासमा गम्भीर प्रश्न उठाएको छ।





