सर्लाही – मधेश प्रदेशमा आगामी आर्थिक वर्षको बजेटमाथि राजनीतिक दलबीचको असहमति झन् चर्किएको छ। शनिबार बसेको प्रदेशसभा बैठक पनि अवरुद्ध भएपछि छैटौं दिनसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेन। कार्यदल गठनमा देखिएको विवाद सुल्झिनुको साटो थप जटिल बन्दै जाँदा सभामुख रामचन्द्र मण्डलले कार्यदल संयोजक पदबाट राजीनामा दिएका छन्।
बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका नेता युवराज भट्टराईले कार्यदल गठनको प्रक्रिया र सदस्य चयनप्रति असहमति जनाउँदै संसद् अवरुद्ध गरे। उनले मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिपक्षसँगको सहमतिअनुसार कार्यदल गठन नगरेको आरोप लगाए।

भट्टराईको असन्तोषको केन्द्रमा थिए कार्यदलका सदस्य सरोजकुमार यादव। भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका यादवको नाम कार्यदलमा राखिएपछि प्रतिपक्षले निष्पक्षताको प्रश्न उठाउँदै आएको छ।
छ वटै प्रतिपक्षी दलले मन्त्री यादवलाई कार्यदलबाट हटाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। माओवादी केन्द्र, जसपा, कांग्रेस, नेकपा एस लगायतका सांसदले ‘सरकारको प्रवक्ताजस्तो देखिने कार्यदल’ स्वीकार्य नहुने बताउँदै आएका छन्।
यही विवादका बीच सभामुख मण्डलले कार्यदल संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले बैठकमा भने, “सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन गर्ने अभ्यास नयाँ हो। कार्यदल गठनको समय र विधि दुवै ठीक थिएन।”
यद्यपि राजीनामापछि पनि बैठक अघि बढ्न सकेन। सभामुखले अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिने समय दिँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेरेर विरोध जनाए। परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरे। त्यसपछि बैठक पुनः सञ्चालन हुने अवस्था बनेन।
कार्यदलमा जसपाका प्रमुख सचेतक रामअशिष यादव, माओवादी सांसद जवाहरलाल कुशवाहा, नेकपा एसका कनिष पटेल, कांग्रेसका संसदीय दल नेता कृष्ण यादव र एमाले नेता सरोजकुमार यादव सदस्य छन्। यसैबीच प्रदेशसभाको अवरोध हटाउने पहल पनि थालिएको छैन। कार्यदलको स्वरूप पुनर्गठन नगरी सहमति खोजिने सम्भावना देखिएको छ।





