बाराका एक युवकको मकवानपुरमा खोलामा डुबेर मृत्यु

२०८२ असार २८, शनिबार २०:१८
सांकेतिक तस्बिर

सर्लाही – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ का १८ वर्षीय प्रणय गुप्ता शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। खोजी कार्यमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनको शव आइतबार साँझ फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा गुप्ताको शव सोही खोलाको झरनाको खोँचमा फेला पारेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटनास्थलमा खटिएको टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले गरेका थिए।

मृतक गुप्तासहित अन्य सात जना युवा चार वटा मोटरसाइकलमा शनिबार बिहान काठमाडौँबाट घुम्नका लागि मार्खु क्षेत्रतर्फ गएका थिए। रमाइलोको क्रममा खोलामा पौडी खेल्दा गुप्ता अचानक बेपत्ता भएका थिए। प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार