
सर्लाही – नेपाली भाषालाई साहित्यको मूलधारमा स्थापित गराउँदै हजारौँ मनमा सांस्कृतिक चेतनाको उज्यालो छर्ने आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज विविध कार्यक्रमको आयोजना गर्दै देशभर र प्रवासमा श्रद्धापूर्वक मनाइँदैछ।
तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादमार्फत नेपाली भाषामा प्रस्तुत गरी जनमानससँग सीधा संवाद गरेका थिए। रामको गाथा नेपाली घर–घरमा पुर्याएर उनले न केवल एक काव्य रचना गरे, बरु नेपाली भाषालाई जन जनसम्म पुर्याउने ऐतिहासिक योगदान पनि गरे।

आज पनि उनका श्लोकहरू सस्वर लयमा घरघरमा पाठ गरिन्छ। “पृथ्वीनारायण शाहले भूगोल एकतामा जोड दिए, भानुभक्तले भावना र भाषामा”, संस्कृतिविद्हरू भन्छन्। उनको अर्को चर्चित रचना वधुशिक्षा, साथै रामगीता, भक्तमाला, प्रश्नोत्तर जस्ता कृतिहरूले साहित्यिक विविधताको परिचय दिएका छन्।
शासन प्रशासनको कामशैलीप्रति आक्रोश पोख्दै झ्यालखानामै बसेर लेखिएको उनको कविता “भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली” आज पनि सान्दर्भिक ठानिन्छ।
आजको दिनमा त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, विभिन्न साहित्यिक संस्था तथा शिक्षण संस्थाहरूले काठमाडौं लगायत देशभर विविध कार्यक्रम गरेका छन्। रानीपोखरीस्थित राष्ट्रिय विभूति प्रतिमामा माल्यार्पणसहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
दार्जिलिङ, सिक्किम, भुटान, बर्मा जस्ता नेपाली भाषाभाषीहरूको उपस्थिति रहेका ठाउँमा पनि आज भानु जयन्ती मनाइँदैछ। यद्यपि ‘आदिकवि’ उपाधिबारे पछिल्ला वर्षहरूमा केही बहसहरू भइरहेका छन्, केही अनुसन्धानकर्ताहरू भानुभक्तभन्दा पहिला पनि नेपाली भाषामा लेख्ने कविहरू थिए भनी तर्क गर्छन्।
तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली भन्छन्, “रामायण जस्तो ग्रन्थलाई नेपालीमा भावानुवाद गर्दै भाषिक एकता स्थापित गर्ने भानुभक्तको योगदान अतुलनीय छ, त्यसैले उनलाई आदिकवि भन्नु न्यायसंगत हो।”