सर्लाही – रौतहटको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालयमा एक शिक्षकद्वारा छात्रालाई अपमानजनक सन्देश पठाएको आरोपपछि आइतबार बिहान तनावपूर्ण स्थिति सिर्जना भएको छ। आक्रोशित विद्यार्थी र अभिभावकको समूहले विद्यालय परिसरमा तोडफोड गरेका छन्।
बिद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई जन्मदिनको अवसरमा ‘हैपी बर्थ डे मेरी जान आई लब यु’ भनेर सन्देश पठाएको आरोप लगाइएको छ। यही विषयलाई लिएर विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए। विवाद चर्किएपछि विद्यालयमा झडपको अवस्था उत्पन्न भएको हो।

घटनामा विद्यालयमा पार्क गरिएको मोटरसाइकल क्षतिग्रस्त भएको छ भने आक्रोशित बिद्यार्थी र अभिभावकले बिद्यालयका अन्य सामग्री तोडफोडसमेत गरेका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली घटनास्थल पुगेको छ।
त्यसका साथै सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएका छन। भीड तितरबितर पार्न सुरक्षाकर्मीले एक राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा अवस्था सामान्य बनाउने काम भईरहेको छ।
आरोपित शिक्षक प्रहरीको नियन्त्रणमा रहेका छन्। विद्यालयमा पढाइ प्रभावित बनेको छ भने अभिभावकहरूले शिक्षकमाथि कारबाहीको माग गरेका छन्। यस विषयमा विद्यालय प्रशासन र प्रहरीबीच छलफल जारी रहेको जनाइएको छ।





