सर्लाही – जनमत पार्टीमा देखिएको आन्तरिक विवादले बारामा अप्रीय मोड लिएको छ। पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष ईन्जिनियर दीपक शाहमाथि आफ्नै पार्टीका केही कार्यकर्ताले कालो मसी छ्यापेका छन्। शाहले हालै ‘जनसंवाद यात्रा’ सुरु गरेका थिए, जसलाई पार्टी नेतृत्वविरुद्धको प्रतिरोधको रूपमा हेरिएको छ।
यही अभियानका क्रममा जब उनी बारा पुगे, त्यहीँ उनलाई लक्षित गर्दै केही युवाले गाडीमै बसिरहेको अवस्थामा बोतलबाट मसी छ्यापे। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ, जहाँ ‘मुर्दावाद’का नारासमेत सुन्न सकिन्छ।

शाहसहितका केही नेताहरूले पार्टी अध्यक्ष डा. सीके राउतविरुद्ध गतिविधि अघि बढाएका कारण पार्टीले उनीहरूलाई अनुशासनहीनता देखाउँदै निलम्बन गरेको थियो। अध्यक्ष राउतले यसै सन्दर्भमा कार्यकर्तालाई यस्तो भेलामा सहभागी नहुन निर्देशनसमेत दिएका थिए।
पार्टी निकट स्रोतहरूका अनुसार, उक्त आक्रमण अध्यक्ष राउतकै निर्देशनमा गरिएको हुनसक्ने अनुमान गरिएको छ। शाहले आफूमाथिको दुर्व्यवहारलाई दुर्भाग्यपूर्ण भनेका छन् र घटनासम्बन्धी आधिकारिक प्रेस विज्ञप्ति चाँडै जारी गर्ने जनाएका छन्।





