मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज बिहान पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको छ। घटनामा दुई जना नेपाली सैनिकसहित पाँच जना घाइते भएका छन्। तीमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–१२ र १३ को सिमानास्थित बाँके चोक नजिक रेल्वे क्रसिङमा आइतबार बिहान १०:५० बजे तिर दुर्घटना भएको हो। श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्र. ०३-०२८ प २१९१ नम्बरको एफजेट मोटरसाइकल र बयलबासबाट महोत्तरीतर्फ जाँदै गरेको बा ८ च ६५ नम्बरको पिकअप भ्यान एकआपसमा ठोक्किएपछि दुवै सवारीमा आगो लागेको थियो।

आगलागीले पिकअपको अगाडिको भाग र मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय चन्द्रदेव धामी गम्भीर घाइते भएका छन्। इटहरीस्थित भगवती दल गणमा कार्यरत नेपाली सेनाका धामीको करिब ८५ प्रतिशत शरीर जलेको छ, र उनको अवस्था चिन्ताजनक छ।
त्यस्तै मोटरसाइकलमा सवार अर्का सैनिक २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी सामान्य घाइते भएका छन्। पिकअप चालक ४० वर्षीय रामएकबाल महतो र सवारीमा सवार ६५ वर्षीय लेखनाथ उपाध्यायको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको टाउको, हात र खुट्टामा चोट लागेको छ।
सवै घाइतेलाई तत्काल उद्धार गरी लालबन्दीस्थित मोडेल अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाको जानकारी पाउनासाथ फुलजोर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरिसकेको छ।





