सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बजेट निर्माण प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल यादवको राजीनामा माग गरेको छ। यसै मागसहित सोमबार जसपाले प्रदेशसभा बैठक बहिष्कार गरेको छ।
बैठक सुरु भएलगत्तै जसपाका सांसदहरूले रेडबुकमा समावेश नगरी योजनाहरू लुकाउने प्रयास गरिएको भन्दै तीव्र आपत्ति जनाए। पूर्व मुख्यमन्त्री समेत रहेका जसपाका नेता लालबाबु यादवले अर्थमन्त्री यादवमाथि ८ हजारभन्दा बढी योजना रेडबुक (बजेट विवरण पुस्तिका) बाट गायब पारिएको गम्भीर आरोप लगाए।

“सदनमा वितरण गरिएको २९४ पृष्ठको रेडबुकमा ती योजनाहरू समावेश गरिएको छैन,” उनले भने, “तर अर्थ मन्त्रालयको आन्तरिक विवरणमा भने ७५५ वटा योजना मात्र देखिन्छन्। यो प्रष्ट रूपमा आर्थिक अपराध हो।”
यही विषयलाई लिएर जसपाले मन्त्री यादवको पदबाट राजीनामाको माग गर्दै सदनको बैठक बहिष्कार गरेको हो। तर जसपाको अनुपस्थितिमा पनि प्रदेशसभा बैठक भने जारी छ। बैठकमा मन्त्री यादवले विनियोजन विधेयक प्रस्तुत गरेका छन् र त्यसको सन्दर्भमा छलफल चलिरहेको छ।





