सर्लाही – धनुषाको सबैला नगरपालिकामा कृषि कार्यक्रमको नाममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालत, काठमाडौंमा सोमबार मुद्दा दायर गर्दै कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत विनियोजित १४ लाख ७७ हजार ५०० रुपैयाँ दुरुपयोग भएको ठहर गरेको हो।
मुद्दामा मुछिएका व्यक्तिहरूमा सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जितकुमार यादव, लेखापाल शिवकुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारीकी अध्यक्ष संजुकुमारी यादव, स्व. प्रशासकीय अधिकृत बालवीर ठाकुरकी श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुर रहेका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सबैला नगरपालिकाले ‘बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम’ सञ्चालन गर्न १५ लाख रुपैयाँ छुट्याएको थियो। तर, वास्तविक रूपमा बोका, खसी वा पाठी खरिद नगरी झुटा बिल भरपाई र कागजात तयार पारेर अनुदान रकम हिनामिना गरिएको पाइएको हो।
उक्त रकम वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरेर निकालिएको थियो। उजुरीपछि अनुसन्धान अघि बढाएको अख्तियारले बताएको छ। प्रत्येक अभियुक्तसँग बिगो वापत १४ लाख ७७ हजार ५०० रुपैयाँ माग गरिएको छ।





