असार सकिँदा पनि सर्लाहीमा बाँझै छन् आधाभन्दा बढी खेत

२०८२ असार ३१, मंगलवार १३:५१

मलंगवा – समयमै वर्षा नहुँदा सर्लाही जिल्लामा धान रोपाइँमा ठूलो असर परेको छ । हालसम्म जिल्लामा कुल धान रोपाइँ क्षेत्रफलको झण्डै ४० प्रतिशतमै रोपाइँ सीमित छ । सिँचाइको सुविधा पुगेका ठाउँमा किसानहरूले सक्रियताका साथ रोपाइँ गरिरहेका छन् भने वर्षामा भर पर्ने क्षेत्रका किसान भने धानको बीउ सुक्न थालेको भन्दै चिन्तित छन् ।

कतै बिउ उम्रिन नपाउँदै ओइलिएको छ भने कतै धेरै ढिला भइसकेकाले अब रोपाइँ गर्न मिल्ने अवस्था छैन । असार सकिन लाग्दा पनि धेरै खेत बाँझै देखिन्छन् । कृषि ज्ञान केन्द्र सर्लाहीका बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाका अनुसार जिल्लाभरिका स्थानीय तहका कृषि प्राविधिकहरूसँग लिइएको विवरणअनुसार हालसम्म करिब ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको हो ।

“कुलो, नहर वा ट्यूबेलजस्ता सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँले केही गति लिएको छ,” ठगुन्नाले बताए, “तर आकाशे पानीमा भर पर्ने क्षेत्रहरू विशेष गरी उत्तरी र पूर्वी भागमा रोपाइँ गर्ने सकिएको छैन ।” बागमती सिँचाइ आयोजनाको पानी पुग्ने पश्चिमी क्षेत्रका खेतहरूमा भने रोपाइँ भइरहेको ठगुन्नाले बताए ।

तर, दक्षिणपूर्वी क्षेत्रका ब्रह्मपुरी, चन्द्रनगर, पर्सा जस्ता ठाउँमा गत वर्ष सिजनको सुरुमै रोपाइँ भएको भए पनि यस वर्ष पर्याप्त पानी नपरेर खेत बाँझै छन् । ब्रह्मपुरी गाउँपालिका–७ का किसान सिकान बिकाउ राय यादवका अनुसार धेरै किसान अझै पानीको पर्खाइमै छन् ।

“कसैले दमकल लगाएर रोपेका छन् तर त्यो पनि धाजा फाटेर सुक्दैछ,” यादवले भने, “हामीजस्ता किसान त पर्याप्त पानी नपरेसम्म रोपाइँ नगर्ने भन्ने निर्णयमा छौँ ।” त्यस्तै, अहिलेको समयमा किसानले रासायनिक मलको अभाव पनि झेल्नु परेको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा करिब ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार